काठमाडौँसहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी जारी

आज (शनिबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी चलेकोले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ ।

महाशाखाका अनुसार यतिबेला कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ ।

महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ ।’ महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ । साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडौँ उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिए ।

शनिबार दिउँसो १:४५ बजे उनले भने, ‘केही अघि काठमाडौँको एयरपोर्ट क्षेत्रमा १५ मिटर प्रतिसेकेन्ड गतिको हावाहुरी चलेको थियो यो भनेको ठूलै हो, उनले भने, अहिले भने प्रतिसेकेन्ड ८ मिटर प्रतिसेकेन्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ ।’

यस्तै आज दिउँसो रुपन्देहीको भैरहवामा १५ मिटर प्रतिसकेन्डको हावाहुरी चलेको जानकारी उनले दिए। ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने ।

खासगरी पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे पनि कोसी प्रदेशको पहाडी क्षेत्रमा पनि आज हावाहुरी चलेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार