सलमान खानको घरमा गोली चलाएको आरोपमा विक्कीका भाइ पनि पक्राउ

बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा मुम्बई अपराध शाखाले थप एक जनालाई पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्त विक्की गुप्ताका भाइ सोनु गुप्तालाई पनि मुम्बई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हाल उनीसँग सोधपुछ जारी छ । गोली हान्ने षड्यन्त्रमा सोनु गुप्ता पनि संलग्न रहेको मुम्बई प्रहरीको आशंका छ ।

मुम्बईको बान्द्रास्थित सलमान निवास ग्यालेक्सी अपार्टमेन्टबाहिर गत आइतबार गोली प्रहार गरिएको थियो । प्रहरीले सीसीटीभी फुटेजका आधारमा बिहार निवासी २४ वर्षीय विक्की गुप्ता र २१ वर्षीय सागर पाललाई सोमबार राति गुजरातको कच्छ जिल्लाको माता नो मध गाउँबाट पक्राउ गरिसकेको छ ।

उक्त गोलीकाण्डमा मुम्बई प्रहरीले अर्को महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार अभियुक्त सागर पाल गुन्डाहरूको जीवनशैलीबाट प्रभावित थिए । उनी आफ्नो सपना पूरा गर्न गिरोहमा सामेल भएको प्रहरीले जनाएको छ ।

गिरोहसँग हात मिलाएर उनले अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने काम पाएका थिए । पक्राउ परेका व्यक्तिहरूलाई सलमान खानको घरमा गोली चलाए ठूलो रकम पाउने भनिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार