एसीसी प्रिमियर कप : नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग भिड्ने भएको छ ।

बुधबार समूह चरणका सबै खेल सकिएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

सेमिफाइनलमा नेपालले समूह बी को उपविजेता युएईसँग खेल्दा समूह ए को उपविजेता हङकङले भने समूह बी को विजेता टोली ओमानसँग खेल्नेछ ।

समूह ए बाट नेपाल समूह विजेता र हङकङ समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । समूह बी बाट भने ओमान समूह विजेता र युएई समूह विजेता बन्दै सेमिफाइनल पुगेका छन् ।

नेपाल र ओमानले अपराजित टोलीका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् ।

आज भएको खेलमा युएईले कम्बोडियामाथि ९ विकेटको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । ओमानले भने कुवेतलाई ४६ रनले हराएको हो ।

नेपालले आजै भएको समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै अपराजित रुपमा सेमिफाइनल खेल्न लागेको हो ।

समूह ए कै अर्को खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गर्दै नेट रनरेटमा अघि रहँदै सेमिफाइनलमा स्थान पक्का हो ।

ओमानसँग पराजित भएसँगै कुवेतको सेमिफाइनल खेल्ने सपनामा भने धक्का पुगेको छ ।

सेमिफाइनलमा दुवै खेल शुक्रबार हुनेछ । सेमिफाइनलका विजेताले उपाधिका लागि खेल्दा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रिमियर कपको विजेताले टी–२० एसिया कपमा स्थान पक्का गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार