प्रदेशसभा अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति, भन्यो- सभामा हुने द्वन्द्वको जिम्मेवार प्रदेश प्रमुख र मुख्यमन्त्री

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले संसद् प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भनेको छ । बुधवार एक विज्ञप्ति जारी गरी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसबाट संसद्‌मा द्वन्द्व हुन सक्ने र त्यसको जिम्मेवार सम्बन्धित पक्ष नै हुन चेतावनी दिएका छन् ।

‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो,’ उनले भने, ‘यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ ।’ कांग्रेसले प्रदेशमा मुख्यमन्त्री नियुक्ति नै गैर संवैधानिक भनेको छ ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो ।

अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् । सोहीअनुसार वैशाख ७ गते प्रदेश सभा अधिवेशन आह्वान भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार