सहकारी ठगी प्रकरणमा सीआईबीले छाडेका गुरुङलाई ललितपुर प्रहरीले समात्यो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष रहेका गुरुङसहित तीन जनालाई सीआईबीले मंगलबार छाडेको थियो । सहकारीमा ठगी गरेको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदनका आधारमा उनीहरूलाई छाडिएको थियो ।

तर, गुरुङले ललितपुरको मानभवनस्थित अर्को कल्याण उपकार सेभिङ एन्ड क्रेडिटको रकमसमेत अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो ।

तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।

यो सहकारीले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै ९६ जनाको जाहेरी ललितपुर प्रहरीमा परेको छ । अहिले थप ४२ जनाको जाहेरी आइसकेको र उनीहरूको कति रकम ठगी भएको छ भन्नेबारे हिसाब भइरहेको प्रहरीले जनाएको छ ।

यस सहकारीबाट अन्य बचतकर्ता पीडित भएको भए ललितपुर प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार