एसीसी प्रिमियर कप: लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा

नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए । एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रनको योगफल तयार पारेको थियो। मैदान चिसो भएपछि २ घण्टा ढिला सुरु भएको खेलमा १२ ओभर छोट्टाइएको थियो।

साउदीलाई कम स्कोरमा रोक्न नेपालका करण केसी र अविनाश बोहोराले समान २ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो । साउदीका लागि अब्दुल वाहिदले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

करण केसीले ओभरको दोस्रो बलमा नै ओपनर फैसल खानलाई कुशल मल्लको हातबाट क्याच आउट गराए। पहिलो बलमा छक्का हानेका फैसल दोस्रो बलमा नै पेभेलियन फर्के। करणले नै तेस्रो ओभरको पहिलो बलमा अब्दुल मनान अलीलाई २ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।

३ रन बनाएका वाजी उल हुसैनलाई ललितले चौथो ओभरको अन्तिम बलमा करण केसीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। १६ बलमा ३ चौका र ३ छक्का हानेका अब्दुल वाहिदलाई प्रतिशले छैटौँ ओभरको चौथो बलमा एलबीडब्लु धरापमा पारे ।

८ रन बनाएका खासिव अब्बासलाई सातौ ओभरको दोस्रो बलमा अविनास बोहोराले एलबीडब्लु धरापमा पार्दै पेभेलियन पठाए। सोही ओभरको चौथो बलमा कप्तान मोहम्मद हिसान शेखलाई २ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट गराए।

आजै अल अमरेट क्रिकेट मैदान टर्फ १ मैदानमा भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै हङकङले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको थियो। मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य हङकङले १२.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। हङकङ र कतारको समान ४ अंक भएपनि नेट रनरेटमा अघि रहँदै हङकङले अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो। हङकङ र कतारको समान ४ अंक भएपनि कतार नेटरनरेटमा पछि रहँदै सेमिफाइनल यात्राबाट बाहिरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार