मन्त्रीद्वय बस्नेत र अर्याल जोडिएको नयाँ कृषि सहकारीको मुद्दा नचलाउने निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल जोडिएको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा नचलाउने निर्णय भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै उक्त सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । उक्त सहकारी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामी पक्राउ परेका थिए । उक्त सहकारीको अध्यक्ष जीबी राई हुन् । उनी अहिले सहकारी ठगी प्रकरणमा फरार छन् ।

उक्त सहकारी प्रकरणमा जोडिएका मन्त्री बस्नेत संस्थापक अध्यक्ष हुन् । त्यस्तै, अर्का मन्त्री अर्याल उक्त सहकारीको पूर्व उपाध्यक्ष हुन् । साथै, उक्त सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत मुछिएका थिए ।

सहकारीको रकम अपचलन प्रकरणमा आफ्नो नाम मुछिएपछि मन्त्री अर्यालले उक्त सहकारीमा उल्टै आफ्नो २३ लाख रुपैयाँ फसेको बताएका थिए । उनले आफ्नो पैसा उठाइदिनेलाई अलिअलि दिनेसमेत बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार