गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आउँदो वैशाख ७ गते विश्वासको मत लिने भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रदेश प्रमुख डिल्लीराज भट्ट गृह जिल्ला डोटीमा थिए । उनी बिहीबार मात्र फर्कने कार्यक्रम थियो ।

मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।

विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

यता, गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्च अदालतले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ । तर, सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन् ।

सर्वोच्चको आदेश विपरीत अधिवेशन आह्वान सिफारिस गरेको भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा अर्को पुरक रिट दायर गरेको छ । निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट निवर्तमान मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पुरक निवेदन दर्ता गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार