एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए । लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए ।

लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए । उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए ।

लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । लामा सर्लाही घर भएर काठमाडौँ बस्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार