बजेट पारित हुन नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

बजेट पारित हुन नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत् दिएका छन् ।

बिहीबार बजेट पारित हुने नदेखिएपछि मुख्यमन्त्री शंकर पोखरेल संसदहरुसहित बैठक छाडेर हिँडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।

यसअघि एमाले सचेतक ढकालले समय घर्किसकेको र बजेट कार्यान्वयनको समय आएकोले बजेट पास हुन दिनुपर्ने बताए पनि विपक्षी सांसदहरूले भने अल्पमतमा रहेको सरकारले बजेट पास गर्न नसक्ने अडान राखिरहेका थिए । विपक्षी दल, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतमा रहेको सरकारले सदन फेस गर्नुको सट्टा षड्यन्त्रको खेलमा लागेको बताए ।

हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित विमला वली गरी ४१ जना नै सांसद छन् । दुवै पक्षको मत समान भएमा सभामुखको भोट निर्णायक मानिन्छ । लुम्बिनीका सभामुख घर्ती माओवादी केन्द्र तर्फका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार