यो समीकरणमा केही भए लौ बर्बाद भयो भन्ने नठान्नु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण भत्काउन ठूलै कसरत सुरु भएको बताएका छन् । उनले देशभित्र र बाहिरका शक्तिले यो समीकरण भत्काउन साना दललाई ठोस्न थालेको बताएका छन् । तर, यति सजिलै समीकरण नभत्कने उनको दावी छ । उनले समीकरण र एमालेतिर वक्रदृष्टि नलगाउन चेतावनी पनि दिए ।

मंगलबार झापा जिल्ला कमिटीको बैठकमा उनले केही घटना घटिहाले अप्ठेरो नमान्न पनि आग्रह गर्दै ढाल्नका लागि देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेको दाबी गरे । उनले भने, ‘अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । केही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नुहोला, लौ बर्बाद भयो भनेर नठान्नुहोला, बर्बाद हुँदैन । रोक्न कोसिस गरिन्छ ।’

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्ड अलमलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको बताए । ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताए ।

‘हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ठाल्दियौँ । कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन । हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री, हाम्रो सरकार, उनले भने, पहिले प्रचण्ड जीलाई प्रधानमन्त्री बनाएको थिए । केही अल्मलिनुभयो, झुक्किनुभयो । फेरि हामी उहाँलाई कन्भिन्स गर्नुभयो । अहिले साहसिक निर्णय गर्नुभएको छ । देशको पक्षमा निर्णय गर्नुभएको छ,’ ओलीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार