प्रधानमन्त्रीलाई सरकार टिकाउने मात्रै चिन्ता छः रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्रीदेखि सत्तारुढ गठबन्धन दलका नेताहरु सत्ता कसरी जोगाउने भन्ने ध्यानमा रहेका टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्ष सत्ता जोगाउने ध्यानमा रहेका र प्रतिपक्षले जसरी पनि सरकार ढाल्ने प्रयास गरिरहेको दाबी गरेका हुन् । देश विकास गर्ने, रोजगारी दिने, मुलुकको अर्थतन्त्र विकास गर्ने, राजनीतिलाई स्थायित्व दिने, संस्कृतिको संरक्षण गर्ने कुरा सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि सोच्न नभ्याएको उनले बताए । उनले अहिलेको समय साह्रै खर्चिलो बनेको टिप्पणी गरे ।

‘अहिले सरकारमा बस्ने प्रधानमन्त्रीदेखि सरकारी पार्टीलाई सरकार कसरी टिकाउने चिन्ता छ । विहान सबेरदेखि बेलुका अबेरसम्म दिनभरी काम के गर्ने ? सरकार टिकाउने कसरी ? कहाँको सरकार ? सात वटा सरकार र केन्द्रको संघीय सरकार । यो आठ वटा सरकार कसरी टिकाउने ? यत्ति ध्यान सत्ता गठबन्धनमा लागि परेको छ’ उनले भने, ‘विपक्षी जो बनेको छ, त्यसले यसलाई कसरी झार्ने ? यसलाई कसरी खुइल्याउने ? कसरी सिध्याउने ? भनेर ऊ पनि त्यही काममा लागेको छ ।’

साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि माग गरेको संसदीय समिति आफ्नै फेस सेभिङको लागि भएको उनको आरोप छ । उनले सहकारी ठगी प्रकरण छानविन गर्ने हो भने उच्चस्तरीय न्यायिक आयोग बन्न आवश्यक रहेको बताए । संसदीय समितिलाई उनले ‘भत्ता पचाउ आन्दोलन’ को संज्ञा दिए ।

‘संसदीय समिति बनाउन पर्यो भनेको चाहीँ भत्ता पचाउ आन्दोलन हो । संसदीय समितिले केही लछार्दैन । यसले कसैलाई मुद्दा लगाउन सक्दैन । संसदीय समितिले अनुसन्धान गर्न पनि सक्दैन, यो कुनै कानुनअन्तर्गत पनि होईन । संसदीय समिति भनेको माननीय सांसदलाई थप भत्ता खुवाउने र अहिलेको विरोधी कांग्रेसको फेस सेभिङ गर्ने मात्रै हो,’ नेता बिडारीले भने ।

सुन तस्करी छानविनका लागि बनाइएको समिति स्मरण गराउँदै उनले त्यस्तो समितिले रिपोर्ट दिनसक्ने दाबी गरे । न्यायिक समितिलाई पनि कारबाहीको भने अधिकार नरहेको उनको भनाइ छ । उनले संसदीय समिति बनाउन पर्यो भनेर कांग्रेसले वाइयात माग राखेको टिप्पणी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार