कतारले साउदीलाई हराएपछि नेपाल अन्तिम खेलअघि नै समूह विजेता

नेपाल एसिसी प्रिमियर कप टी(२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ ।

सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।

नेपाल समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।

नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ । नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसिन छ ।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४/४ अंक छ ।

अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार