एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनेका थिए । उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार