सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे गठबन्धन छलफलमा

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल भएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच छलफल भएको थियो ।

छलफलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको खनालले दाबी गरेका थिए । त्यसमा नाउपा अध्यक्ष रञ्जिता पनि सकारात्मक रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी परेपछि मंगलबार मध्याह्न विवाद सल्ट्याउन नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसद र नेताहरूसहितको बैठक बसेको थियो । बैठकमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे छलफल भएको एक नेताले बताए ।

‘सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबित्तिकै विवाद समाधान हुन्छ । मैले त्यही कुरा प्रधानमन्त्रीलाई भने । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ,’ उनले दाबी गरेका थिए ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले आफूहरू छलफलमै रहेको बताए । ‘हामी छलफलमै छौं, विषय टुंगिइसकेको छैन । अहिले नै केही भन्न सकिँदैन,’ उनले भने ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सुदूरपश्चिमको मुख्यमन्त्री दिएमात्र कुरा मिल्ने बताए । ‘सुदूरपश्चिमको मुख्यमन्त्री दिएमात्र कुरा मिल्छ । हाम्रो निष्कर्ष त्यही हो,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार