डोल्पाको खेल मैदानमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दर्ता

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा कभर्ड हल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सबइन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ मा सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट कभर्ड हल तथा खेलमैदान उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो ।

खेलकुद मैदान निर्माणको कार्य, लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको देखाएर भ्रष्टाचार गरिएको अख्तियारले जनाएको छ ।

यस क्रममा गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई तयार पारी फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय रूपैयाँ बराबरको झुटा बिल भरपाई बनाएको पाइएको छ । अख्तियारले पाँचै जनालाई उक्त रकम बराबरको बिगो कायम गरी असुलउपर गर्नुपर्ने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार