प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच एकघण्टा वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् । आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको थियो ।

उनीहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

एमाले, माओवादीसहितको केन्द्रको सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको निर्णयबाट पछि हटाउने प्रयास जारी राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको स्रोतले बतायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार