हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो खेलमा विजयी

नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अब औपचारिकता मात्रै बाँकी छ ।

सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्‍यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भयो ।

हङकङका ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए । यस्तै छैटौं ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे ।

हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए । उनलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे ।

त्यसपछि हङकङका ब्याटर चल्न सकेनन् । बाबर हायतलाई ६ रन र एजात खानलाई ७ रनमा ललित राजवंशीले आउट गरे । यस्तै यसिम मुर्ताजालाई २ रन र नास्रुल्ला रानालाई ६ रनमा अभिनास बोहराले आउट गरे । यस्तै बोहराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा १७औं ओभरमा जीशन अलीलाई १४ रनमा दीपेन्द्रबाट क्याच गराए ।

दीपेन्द्रले १८औं ओभरको चौथो बलमा इशान खानलाई ११ रनमा बोल्ड गरे लगत्तै अर्को बलमा धनञ्जय रावलाई पनि बोल्ड गरे ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेवियासँग खेल्नेछ । समूह ए मा अब मलेसिया र साउदी अरेवियाको मात्रै ६ अंक पुग्न सक्छन् ।

मलेसियाले सोमबार नै अर्को खेलमा कतारसँग खेलिरहेको छ । उक्त खेलमा मलेसिया पराजित भएमा नेपाल आज नै सेमिफाइनलमा पुग्नेछ ।

हरेक समूहबाट दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार