वान एक्स बेटमार्फत सट्टाबाजी गरेको आरोपमा तीन जना पक्राउ

वान एक्स बेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् । उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टाबाजी गराउने गरेका थिए । उनीहरूलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए । जसमा ९८ वटा बैंक खाताहरू जोडिएका थिए ।

ती खाताबाट ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको खुलेको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार