सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने सहमति

सुदुरपश्चिमको पहिलो मुख्यमन्त्री नाउपाले पाउने निश्चित भएको छ । आइतबार सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नाउपाबीच बालुवाटारमा छलफलपछि उक्त सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘सुदूरपश्चिमम सरकारको पहिलो नेतृत्व नाउपाले गर्ने सहमति जुटेको छ।’

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताएका थिए । त्यसपछि आलोपालो अनुसार दुई वर्षपछि एकीकृत समाजवादीलाई नाउपाले मुख्यमन्त्री छाड्न सहमति भएको छ। योसँगै कैलाश चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनले आजै दाबी पेस गर्नेछन् ।

यसअघि नाउपाकी अध्यक्ष रञ्जिताले घनश्याम चौधरीलाई हटाएर प्रदेश संसदीय दलको नेतामा कैलाश चौधरीलाई नियुक्त गरेकी थिइन्। कैलाश रञ्जितानिकट सांसद हुन । उनी कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार हुँदा राज्यमन्त्री थिए । सत्ता गठबन्धन फेरबदल भएपछि उनलाई बर्खास्त गर्दै नाउपाका अन्य सांसदलाई मन्त्रालयमा तानिएको थियो ।

नाउपाले मुख्यमन्त्री पाउने भए पनि कसले नेतृत्व गर्ने भनेर पार्टीभित्र विवाद छ । नाउपा सुदूरपश्चिमका सांसदहरू पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार