पर्साबाट ९ महिनामा ५६ करोडको अवैध सामान बरामद

चालु आर्थिक वर्षको नौ महिनामा पर्साबाट रु ५६ करोड एक लाख छ हजार नौ सय रुपैयाँ बराबरको अवैध रामान बरामद भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले गएको साउनदेखि चैतसम्म भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका ५६ करोड भन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रु ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको जानकारी दिए । ‘पर्साको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ । सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ,’ उनले भने ।

नेपाल प्रहरीले यस अवधिमा अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका रु १९ करोड ६१ लाख १६ हजार ४० बराबरका सामान नियन्त्रणमा लिएको छ । आव २०७८र७९ मा रु २३ करोड ४९ लाख २१ हजार एक सय ४५ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । आव २०७९÷८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ बराबरका सामान बरामद भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए ।

दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको छ । सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहको स्थानीय प्रशासनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार