स्काउटको जग्गा विवाद छानबिनका लागि पाँच सदस्यीय समिति गठन

युवा तथा खेलकुद मन्त्रालयले लैनचौरस्थित स्काउटको जग्गाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले बुधबार उपसचिव रमा भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा संसदीय मामिला मन्त्रालयबाट कानुन अधिकृत, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अधिकृत, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अधिकृत र खेलकुद मन्त्रालयका सचिव वसन्त गिरी सदस्य छन् ।

कानुन मन्त्रालय, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका तर्फबाट भने सदस्यहरु तोकिन बाँकी छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यसअघि स्काउटबाट सञ्चालित कार्यक्रम, योजना र गतिविधि तथा अनियमितताका विषय मन्त्रालयमा पुगेको भन्दै आवश्यक सबै कागजात उपलब्ध गराउन पनि स्काउटलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीचको जग्गा भाडा सम्बन्धी पहिलो सम्झौता, सम्झौताबमोजिम भएका कामकारबाही र जग्गा भाडाविवादमा उच्च अदालत पाटनबाट गत वर्ष भएको फैसला कार्यान्वायनमा स्काउटबाट भएका पहलको प्रगति विवरणसम्बन्धी कागजात उपलब्ध गराउन यसअघि नै निर्देशन दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार