चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफल

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेकी हुन् ।

अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी थिए ।

प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आएको जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भने, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किलपर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भने “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”

कलेजो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।” उनले अगाडि भने, “दुई देखि तीन महिनामा दुवै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”

पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिए । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्रत्यारोपणमा एक÷दुई युनिट रगतले नै पुगेको बताए । बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उनले भने, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामिमा यस्तो समस्या हुन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उनको भनाइ छ ।

यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङ्को कलेजो प्रत्यारोपण गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार