सरकारमा नजाने जनमोर्चाको निर्णय

राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताइन् । प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन् ।

५ दलीय गठबन्धनमा जनमोर्चाको पनि सहभागी, साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका थिए । सरकारमा भने सहभागी नभएपनि देउवालार्य विश्वासको मत भने दिने बताइएको छ ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार