आधा तलब घटे पनि मेस्सी बार्सिलोनामै रहने

अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । मेस्सीले आफूले पाउँदै आएको तलबमा ५० प्रतिशत कटौती हुने गरी थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

बार्सिलोनासँगको करार अवधि गत जुन ३० तारिखबाट सकिएसँगै विश्व फुटबलका महान खेलाडी मेस्सी कुनै पनि क्लबमा आबद्ध हुन स्वतन्त्र बनेका थिए । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहने सम्झौतामा सहमति जनाएको बताइएको छ ।

नयाँ सम्झौता अनुसार मेस्सी अब सन् २०२६ सम्म अर्थात ३९ वर्षको उमेरसम्म बार्सामै रहनेछन् । हाल वार्षिक १७ करोड अमेरिकी डलर तलब लिइरहेका मेस्सीले अब भने वर्षको साढे ८ करोडको हाराहारीमा पारिश्रमिक बुझ्नेछन् । बार्सिलोनासँगको करार अवधि सकिएपछि मेस्सी नयाँ सम्झौता नगरि कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।

उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका जितिसकेका छ । उनी हाल परिवारसँग विदा मनाइरहेका छन् । उनले १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिग, ७ पल्ट कोपा डेल रेसँगै ६ पल्ट बेलोन डि’ओरको ट्रफी जितेका छन् ।

३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार