पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत, ३ महिनाभित्र पेट्रोल पनि पाइपबाटै ल्याइने

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम करिब ७० प्रतिशत सकिएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले बताएको छ ।

परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १ सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको कार्यालय प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माण अघि बढेको उनको भनाइ छ। ‘सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिएका थियौँ। निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि कम्पनीले म्याद थपका लागि निवेदन दिएकाले म्याद थपको प्रक्रियामा छौँ,’ उपाध्यायले भने । उनका अनुसार अहिले निर्माणाधीन अवस्थामा रहेका दुई पेट्रोल ट्यांकमध्ये एउटा नेपाल आयल निगमको र अर्को भारतीय आयल कर्पोरेसनको लागतमा बनिरहेका छन् । पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपो भित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल कर्पोरेसनले निर्माण गरिदिने सम्झौता थियो ।

पहिलो चरणको काम सम्पन्न विसं २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । दोस्रो चरणको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने प्रमुख उपाध्यायले बताए । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाटै हुन्छ ।’

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । करिब ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार निगमले थप पाँच/पाँच हजार किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण अघि बढाइएको प्रमुख उपाध्यायले बताए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार