मौसममा सुधार आउन अझै केही दिन लाग्ने, घर बाहिर ननिस्किन आग्रह

पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताए । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एक अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् ।

उनले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भएपनि नजान भनिएको छ ।

“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।”

यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आह्वान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार