युरोकप विजेता टोलीलाई रोममा भव्य स्वागत

इटालीले युरो २०२० मा प्राप्त सफलताको मंगलबार रोममा खुसीयाली मनाएको छ । यसक्रममा खेलाडीलाई नायकका रूपमा सम्मान गरिएको थियो ।

आइतबार वेम्बलीमा भएको फाइनलमा इटालीले नाटकीय रूपमा इंग्ल्यान्डलाई टाइब्रेकरमा हराएको थियो । इटालीका राष्ट्रपति र प्रधानमन्त्री दुवैले टिमको सम्मानमा कार्यक्रम राखेका थिए । त्यसपछि खेलाडी डबल डेकर बसमा बसेर सडक यात्रामा निस्केको थियो । आमसमर्थकले भने इटालीको झण्डा बोक्दै उनीहरूको भव्य स्वागत गरेको थियो ।

वेम्बलीमा प्राप्त सफलतापछि २४ घण्टाको भावनात्मक यात्रा तय गरेर इटाली टोली स्वदेश पुगेको थियो । सुरुमै गोल खाएको इटालीले त्यसपछि खेललाई बराबरीमा ल्याउँदै टाइब्रेकर भने ३–२ को जितेको थियो । इटालीले युरो जितेको यो दोस्रो अवसर मात्र हो । सन् २०१८ को विश्वकपमा छनोट हुन असफल रहेपछि रोबर्टो मान्चिनीको इटालीले उत्कृष्ट पुनरागमन रच्दै अद्वितीय उपलब्धि हात पारेको हो । ‘यो इटालीको फुटबलको पुनर्जागरण हो,’ खेलाडी लियोनार्डो बोनुचीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार