यस्ता छन् देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारको प्रवक्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाइ र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय भएको हो ।

बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ । बैठकले कोरोना लगायत विभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिएको मन्त्री कार्कीले बताएका छन् । उनले कोरोना फ्रन्टलाइनमा खटिएकाहरूलाई स्वास्थ्यकर्मीलाई जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

यसअघि मङ्गलवार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । देउवालाई मुख्यसचिव शंकरदास वैरागी एंव सचिवहरूले सिंहदरबारमा स्वागत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार