नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंक लिमिटेडले नेशनल एकेडेमीअफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले सोमबार आफ्नो ३७औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमकाबिच उक्त प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबिच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु। ६ करोड नगद सहयोग गरेको थियो । त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ ।

यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । यो अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार