माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, आज बन्ने मन्त्रीबारे छलफल

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गरिने बताइएको छ ।

जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासमेत भइरहेको उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।

स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ । बैठकमा सामान्य छलफल भए पनि कसलाई सपथग्रहणमा पठाउने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिने सम्भावना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार