आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराउँदै आर्मी च्याम्पियन

मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित खेल मैदानमा आइतबार भएको फाइनल खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

आर्मीको जितमा सितामाया बल र सीमा खड्काले दुई दुई गोल गरे । बलले ३८औँ र ५८औँ तथा खड्काले ४२औँ र ५४औँ मिनेटमा गोल गरेका थिए । यस्तै मदन भण्डारी एकेडेमीका लागि मधु राईले दुई गोल गरिन् । राईले ४८औँ र ४९औँ मिनेटमा गोल गरिन् ।

उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता मदन भण्डारीले एक लाख रुपैयाँ पायो । फाइनल खेलमा आर्मीकी सितामाया बल प्लेयर अफ दि म्याच भइन् । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।

विजेतालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की सङ्घका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा फागुन १४ गतेदेखि सञ्चालित प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठ टिम सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार