सेनिटरी प्याडमा पनि भ्रष्टाचार, तत्कालीन नगर प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा

धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार यादवसहित ९ जनाविरुद्ध झण्डै १४ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्यानिटरी प्याड खरिदमा झुटा विवरण तयार पारेको खुलेपछि यादव, तत्कालीन उपप्रमुख शिला देवी कापरसहित ९ जनाविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिदमा झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातको आधारमा यादवसहित ९ जनाविरुद्ध बदनियतपूर्ण ढङ्गले खरिद सम्झौता एवम् १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।

अख्तियारले नगर प्रमुख र उपप्रमुखसहित, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्‍न यादव, लेखापाल लोकबहादुर नेपाली, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, श्री माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सव-इन्जिनीयर सरोज कुमार महतो र रेजा ट्रेडिङ्ग प्रालि धनुषाका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्यानिटरी प्याड खरिदका लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसँग सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नु अघि नै २०७७ फागुन १३ मा भुक्तानी गरेको, सिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक सङ्ख्या नखुलेको तर सम्झौता अगावै र कहीँ कतै सङ्ख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले आपूर्ति गरेको देखिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उनीहरुविरुद्ध सजायको मागदाबी लिइएको आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार