गठबन्धन आफैँ भित्रका समस्या र अन्तर विरोधले टुट्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तर विरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्रका तमासाहरू देखिरहेको बताउँदै अन्तरविरोधले आफैं फुट्ने दाबी गरे ।

‘गठबन्धनभित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौं । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौं । यो गठबन्धन आफैंभित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ’, उनले भने ।

एमाले उपाध्यक्ष पौडेलले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा सत्ता गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको बताए ।

समाजको अग्रगतिका लागि पनि गठबन्धन नै प्रमुख बाधक रहेको उनले बताए । उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार