माधव नेपाल : जसले ढाले ओली सरकार

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गरेका थिए।

नेपालकै छत्रछायाँमा लामो समय रहेका ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे। २०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा दुईतिहाइ नजिकको सरकार बन्यो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो।

यी सबै विषयमा ओली एकलौटी बढेको र आफूसँग छलफलै नगरेको भन्दै नेपालले असन्तुष्टि जनाउँदै गएका थिए। दोस्रो मृगौला प्रत्यारोपण पछि ओली र दाहालबीच अन्तरविरोध बढ्न थाल्यो।  २०७७ पुस ४ मा ओली सरकारविरुद्ध दाहाल–नेपाल गठबन्धनले अविश्वासको मत ल्याउने तयारी गर्‍यो। त्यो थाहा पाएर ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरे।

नेपाल निरन्तर विपक्षी गठबन्धनसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न लागिरहे।  नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहे। दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि उनीहरूबीचको सम्बन्धमा सौहार्दता कायम भएन।

२०७८ असार २७ मा कार्यदलले १० बुँद्धे एकताको सहमति गरे। त्यसमा नेपालले भने अपनत्व ग्रहण गरेनन्। उनले तत्कालै अन्तुष्टिको प्रतिक्रिया दिए। सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा पुनस्र्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गरेनन्, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक बोलाए। ओलीलाई सत्ताच्युत गर्ने एक मात्र उद्देश्य पूरा भएको भन्दै उनले खुसी प्रकट गरे।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार