शालीनको पोस्टमार्टममा बलात्कार देखिएन, झुण्डिएका कारण मृत्यु

चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको स्रोतले बताएको छ ।

गत शनिबार बिहान १० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघर भएकी एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिनको शंकास्पद मृत्यु भएको थियो।

अर्की साथीसहित बस्ने होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीको सहयोग लिएर झुन्डिएको अवस्थामा उनी मृत भेटिएकी थिइन्।

शालिनको मृत्युपछि आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह(प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । उनीहरू अझै प्रहरीको हिरासतमै छन् ।

उनीहरूलाई चितवन जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उता शालिनका आफन्तहरू उनको बलात्कारपछि हत्या भएको दाबीसहित आन्दोलित छन्। सामाजिक सञ्जालमासमेत शालिनको पक्षमा न्याय अभियान चलाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार