आज देशैभर मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशका धेरै ठाउँमा र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखााले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

देशका बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ । साथै देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार