पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता बन्यो नेपाल

नेपाल राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।

साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।

बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो । जहाँ जोर्डनले बाजी मार्‍यो ।

जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे । नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाइन् ।

त्यसअघि सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् ।

पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४औँ मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएकी थिइन् ।

८९औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन् । तर, इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई पुनस् २–२ को बराबरीमा फर्काएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार