विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा

सबैलाई समेटेर सरकार बनाउन देउवालाई सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् । विपक्षी गठबन्धनको कोटेश्वरमा बसेको बैठकमा उनले अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो ।

नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

साथै नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सबैलाई समेटेर सरकार गठन गर्न पनि आग्रह गरेका छन् । विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार