राष्ट्रियसभा अध्यक्षमा सिटौलालाई सोच्न सकिन्छ भनेको हो, तर घटनाक्रम भिन्न ढङ्गले अगाडि बढ्योः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार र कांग्रेस महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताएका हुन् ।

सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृुष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो,’ उनले भने ।

कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको उनले बताए ।

पार्टी स्थायी कमिटीको बैठकमा अत्याधिक सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न हुँदैन भन्ने सुझाव राखेको पनि उनले बताए । तर, औपचारिक रुपमा लिखित निर्णय भने नभएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार