होस्टेलमा १४ वर्षीया किशोरीको शंकास्पद मृत्यु, प्रिन्सिपलसहित तीनजना पक्राउ

 चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् । पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन् ।

शालिनलाई होस्टेलको कोठाभित्र पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको खबर आएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए। मृतक किशोरीका आफन्तले आत्माहत्या नभएर बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यही जाहेरीअनुसार घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको हो।

शालिन हजुरआमाकी दिदीको घरनजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन् । शालिनका आमाबुवाको केही वर्षअघि डिभोर्स भएपछि उनी मामाघरकी हजुरआमाको साथमा थिइन् । उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ। रत्ननगर नगरपालिका-१५ माधवपुरमा शालिनको मामाघर छ ।

मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनकी दिदीको घरनजिकैको विद्यालयमा भर्ना गरिदिएकी थिइन्। शालिनको हेरचाहमा पनि कमी नहुने र पढाईमा समस्या नहुने भन्दै उनलाई होस्टेल राखिएको थियो । डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार