गुजरातबाट एकैदिन चरेससहित २० अर्बको लागुऔषध बरामद

भारतको गुजरातमा करिब २० अर्ब भारतीय रुपैयाँको ३३ सय किलोग्राम लागुऔषध मंगलबार राति बरामद भएको छ ।

गुजरातको पोरबम्दरमा ३३ सय किलो लागुऔषध बरामद गरिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार जसको मूल्य २० अर्ब रुपैयाँभन्दा माथि छ ।

लागुऔषधसँगै भारतीय अधिकारीहरूले पाँचजना विदेशी नागरिकलाई पनि पक्राउ गरिएको जनाएका छन् ।
नारकोटिक्स कन्ट्रोल ब्यूरोले स्थानीय सुरक्षा अधिकारीहरूसँग मिलेर चलाएको अपरेसनका क्रममा अर्बौँ मूल्यको लागुऔषध चरेससहित बरामद भएको हो ।

भारतीय नौसेना, गुजरात एटीएस, नेभी र सेन्ट्रल एजेन्सीको संयुक्त अपरेसनका क्रममा मंगलबार अरब सागरमा भारतीय सीमातर्फ यो लागुऔषध बरामद भएको हो ।

संयुक्त अपरेसनका क्रममा लागुऔषध गन्तव्यमा पुर्‍याउन खटिएका ५ जना विदेशी नागरिक पनि समातिएका हुन् । उनीहरू इरानी या पाकिस्तानी भएको आशंका भारतीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै गरेका छन् ।

केही दिनअघि गिर सोमनाथ पुलिसले भेरबल सहरको घाटसम्म बगेर आएको ३ अर्ब ५० करोड रुपैयाँको नशालु औषधि बरामद गरेको थियो ।

त्यसपछि दिल्ली नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी), गुजरात एटीएस र अन्य केन्द्रीय एजेन्सी यो लागुऔषध तस्करीमा संलग्नको खोजीमा लागेका थिए ।

यस अपरेसनका क्रममा समुद्री सीमाबाट मादक पदार्थ र लागुऔषधको अहिलेसम्मकै ठूलो परिमाण बरामद भएको हो ।

भारतीय नौसेनाका अनुसार यस अपरेसनमा ३ हजार ८९ किलोग्राम चरेस, १५८ किलोग्राम मेथम्फेटामाइन र २५ किलोग्राम मर्फिन जफत भएको हो ।

यसलाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले एनसीबी, नौसेना र गुजरात पुलिसलाई बधाई दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार