मिटरब्याज पीडितको समस्या समाधान सरकारले भन्दा पनि अदालती प्रक्रियाबाट गर्नुपर्छ- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याज पीडितको समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । बुधबार बसेको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बैठकमा प्रधानमन्त्री प्रचण्डले मिटरव्याज पीडितको समस्या समाधानमा गम्भीर रहेपनि सरकारको कारण भन्दा अदालती प्रक्रियातिरबाट समाधान गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गरे ।

सरकार र अदालत मिलेर मात्रै मिटरव्याज पीडितको समस्या समाधान गर्न सकिने भन्दै सरकारले अदालतसँग समन्वय गरेर काम गर्न खोजिरहेको बताएका छन् । मिटरव्याज पीडितसँग वार्ता पनि भइरहेको र अदालती प्रक्रियामा समन्वय गर्न पनि सरकारले ध्यान दिइरहेको प्रचण्डको भनाइ छ ।

उनले भने,‘मिटरव्याज पिडितको समस्या सामाजिक,आर्थिक लगायत विभिन्न रुपमा जटिल र गहिरो छ,सरकारले अदालतसँग समन्वय गर्ने कोशिस गरिरहेको छ । मिटरव्याज पीडितसँग वार्ता पनि भइरहेको छ ।’

न्यायको माग राख्दै काठमाडौंमा आन्दोलन तथा शान्तिपूर्ण धर्ना जारी राखेका मिटरव्याज पीडित र सरकारबीच पटक पटक भएका छलफल निष्कर्षविहीन भएका छन् । सरकारले पीडितहरु बस्दै आएको स्थान भृकुटीमण्डप खाली गर्न भनेपछि पीडितहरुले सरकारसंग वार्ता स्थगित गरेर आन्दोलनमा उत्रिएका थिए ।

देशभरका विभिन्न जिल्लाबाट मार्च पास सहित न्यायको माग राख्दै शान्ति पूर्ण धर्ना तथा आन्दोलनमा उत्रिएका पीडितहरु गत आइतबार संसद भवनमा जवरजस्ती छिरेका थिए ।

सरकारले उक्त घटनाको छानविन गर्न समिति गठन गरेको छ । यसभन्दा अगाडि पनि पटक पटक भएको आन्दोलनमा राज्यले वार्ताको नाममा बोलाउने र सम्झौता गर्दै कार्यन्वयन नगर्ने गरेकाले अहिलेको आन्दोलन राज्यको खराब प्रवृत्तिका विरुद्धसमेत भएको पीडितहरुको भनाइ छ ।

राज्यले सोही प्रवृत्ति दोहोर्‍याउन पुनः गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ताटोलि गठन गरेको र सो टोलीले पीडितको मुद्दा किनारा लगाउन नसक्ने पीडितले गुनासो गरे । वार्ताका लागि मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नु पर्ने उनीहरुको माग छ ।

मिटर ब्याजपीडित र सरकार बीचको वार्ता मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको थियो । सरकार र मिटरब्याज पीडितबीच कुनै सहमति नभएपछि वार्ता निष्कर्षहीन टुंगिएको हो ।

देशका विभिन्न ठाउँबाट पैदलयात्रा गरी प्रदर्शन गर्न काठमाडौं आएका मिटरब्याज पीडितलाई मंगलबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनी हलबाट राष्ट्रिय अपांग कोष नजिकको खाली ठाउँमा सारिएको थियो ।

त्यहाँ बसेका उनीहरूलाई मंगलबार महानगरीय प्रहरीले सारेको हो । यही फागुन १७ गतेदेखि त्यहाँ मेडिकल सम्बन्धी कार्यक्रम भएका कारण उनीहरूलाई त्यहाँबाट नजिकै रहेको अपांग कोष छेउको खाली ठाउँमा सारिएको नगर प्रहरीले जनाएको थियो ।

लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन् । उनीहरूले पटक(पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार