निशा र शरद दुवैले आफ्ना सबै अंश छोराको नाममा गर्ने

अभिनेत्री निशा अधिकारी र उनका पति पूर्वक्रिकेटर शरद भेषवाकरले उनीहरूका सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन्। निशाले मंगलबार फेसबुकमार्फत अदालतले आफूहरूलाई दिएको सबै अंश छोराको नाममा राख्ने बताएकी हुन्।

त्यसका लागि कानुनी प्रक्रियासमेत अघि बढिसकेको जानकारी निशाले दिएकी छन्। ‘मेरो छोराको बुवा (शरद) र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ’, निशाले लेखेकी छन्, ‘तसर्थ एकअर्काको धन सम्पत्तिमा दुइटैको नजर नरहेको कुरा छ।’

निशाले पतिविरुद्ध दिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले हालै निशाले भेषावकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला गरेको थियो। यो मुद्दा बहिर आएदेखि विभिन्न टिकाटिप्पणी र गाली खानुपरेको भन्दै उनले फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन्।

नायिका निशाले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन् । न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो।

निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् ।

शरदले अदालतमा दिएको जानकारी अनुसार निशा २०७५ मंसीरदेखि आफूखुशी माइत बस्दै आएकी हुन्। छोराको स्कूलको मासिक खर्च १० हजार रुपैयाँ आफूले बेहोरिरहेको पनि शरदले खुलाएका छन्। २०७६ फागुनसम्म आफूले निशालाई साढे ११ लाख रुपैयाँ खर्च दिएको पनि अदालतमा शरदले बताएका छन्। 

उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै चलचित्रमा अभिनय गरेकी कलाकार हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार