संसद भवनमा खटिएका ३२ जना सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो ।

प्रहरी प्रधान कार्यालयले उक्त सिफ्टमा रहेका सबै प्रहरीलाई संसद भवनको सुरक्षा जिम्मेवारीबाट हेडक्वार्टर फिर्ता बोलाएको हो। उनीहरूको स्थानमा नयाँ कर्मचारी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संसद् भवनको सुरक्षामा विशेष कार्यदलका प्रहरी खटिन्छन्।

आन्दोलनकारी पसेको बेला डीयूटीमा रहेका ३२ जना प्रहरीलाई त्यहाँबाट हटाइएको हो। सोमबार दिउँसो संसद बैठक लगतै लघुवित्त पीडित आन्दोलनकारीहरू संसद् भवन छिरेर प्रदर्शन गरेका थिए। उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन्। आन्दोलनकारी संसदभित्रै प्रवेश गर्न खोजेपनि मर्यादा पालकले रोकेका थिए। मर्यादा पालकले जान नदिएपछि परिसरमा उनीहरूले नाराबाजी गरेका थिए।

प्रहरीले ४९ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ। घटना छानबिनका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति पनि गठन भएको छ। यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर यस बारेमा जानकारी समेत लिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार