राजेन्द्र महतोले छाडे लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने। महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए। त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, सम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुष्मन देशका दुष्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद् कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो।’ यही बखत भएको लिम्बुवानलगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन नसकेको उनको भनाइ छ। यी सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्थाविरूद्ध रहेको उनले बताए ।

‘आफ्नै आन्दोलन पनि एकल आयामिक थियो। एकल अयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरू भएको आन्दोलन अधुरो रहन गयो। शासन पनि एकल नश्लीय त्यसविरुद्धको आन्दोलन पनि एकल आयामिक भयो। त्यसैले त जनताले चाहेको जस्तो राजनीति हुन सकेन, देश बन्न पनि सकेन। अब गहिरो संकथन र थप परिमार्जन गरी आन्दोलन बहुआयामिक हुनु जरुरी भैसकेको छ,’ उनले भने।

महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए। उनले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताए। ‘विभिन्न विचार राख्ने पार्टीका नेता, कार्यकर्ता, व्यक्ति–व्यक्तित्व अभियानमा लाग्न सक्छन्। हामी अभियान, विद्रोह र संघर्षको माध्यम हुँदै क्रान्तिमा पुग्छौं। अहिले सरकारमा रहेका पार्टीहरू तत्काल आन्दोलन, अभियानका लागि तयार देखिएन। हामी आग्रह गर्छौं, सरकार छाड, जनताको बीचमा आऊ, पहिचानको कुरा गर, संघर्षको कुरा गर,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार