१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

संसद्‌मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्। विपक्षी दलहरूले तीन विवादित मन्त्रीहरूको राजीनामा माग्दै गत फागुन ६ गतेदेखि बैठकमा अवरोध गर्दै आएको थियो।

सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरूले सोही माग राख्दै बैठक अवरोध गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक सरकारलाई रुलिङ गरेसँगै सुरु भएको छ।

सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण कार्यसूची भएकाले अवरोध नगर्न बारम्बार आग्रह गरेका थिए। तर, नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

पुनः बसेको बैठकमा सभामुख घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए। त्यसपछि बैठक समापन गरी अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे।

बैठकमा बिहान सांसदहरूले ‘सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरूलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।

त्यसअघि आकस्मिक समय लिएर एमाले सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसान, मिटरब्याजीलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए।

‘एउटै कुरा बारम्बार उठाइराखिएको छ। सरकारको कानमा रुवा कसैले हालिदिएको छरु जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ,’ बाँस्कोटाले भने।

सरकारले सदनमा आएर जवाफ दिनुपर्ने एमालेको माग थियो।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने कार्यसूची थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार