नेतन्याहूले सार्वजनिक गरे युद्धपछिको गाजाबारे योजना

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको युद्ध सकिएपछि गाजा कसरी चलाउने भन्ने योजना पेश गरेका छन्।

प्यालेस्टाइनी क्षेत्र गाजामा हमासविरुद्ध आक्रमण जारी राखेको इजरायलले नेतन्याहूको योजनाअनुसार अब सुरक्षाको जिम्मा आफैँले लिनेछ। नेतन्याहूले गाजाको सुरक्षा जिम्मा अनिश्चितकालका लागि इजरायलले लिने योजना सुनाएका हुन् । तर अमेरिका भने गाजा प्यालेस्टाइनकै जिम्मा लगाउनुपर्ने पक्षमा छ ।

वेस्ट बैंकमा प्रशासनको नेतृत्व गरेको प्यालेस्टाइनलाई नै गाजाको जिम्मा दिनुपर्ने अमेरिकाको दबाब छ। इजरायल भने प्यालेस्टाइनको अस्तित्व स्वीकार नै गर्न चाहेको छैन। प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासका प्रवक्ताले नेतान्याहूको गाजाको सुरक्षा हेर्ने प्रस्ताव एकपक्षीय र प्रभावहीन रहेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

इजरायलले गाजाको सुरक्षाको जिम्मेवारी लिनुअघि गाजालाई पूर्णरूपमा हमासमुक्त र हतियार मुक्त गराउन चाहन्छ। पूर्णरूपमा डिमिलिटराइज गराउन इजरायलले अहिले सुरङ खोज्दै नष्ट गर्ने काम गरिरहेको छ भने हमासविरुद्ध आक्रमण जारी राखेको छ। गत अक्टोबरमा शुरु भएको युद्धमा गाजामा करिब ३० हजारको मृत्यु भइसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार