सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएको शिशुसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। शिशुसहित उनीहरूलाई शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले काँडाघारीबाट पक्राउ गरेको बताइएको छ ।

 शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ ।

प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् । तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने अधिकृतहरु बताउँछन् । प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्। 

शिशु लिएर महिला गायब भएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजीका क्रममा प्रहरीले शिशुसहित मनकुमारी र उनका २ आफन्तलाई काठमाडाैँकै काँडाघारीबाट नियन्त्रणमा लिएको हो। 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार