सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट छिट्टै पारित हुने बताएका छन् । २३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानूनको टुङ्गो लाग्ने बताएका हुन् ।

जनयुद्धका सहिदहरूलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे । उनले मजदुरहरू आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्त्व रहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार